ज्ञानमाला भजनका सर्जक– सुवर्ण बज्राचार्य : व्यक्ति र व्यक्तित्व

ज्ञानमाला भजनका कुशल गायक । मीठो स्वर । आफ्नै रचना । हरेक शनिबार विहान नदीपुर स्थित धर्मशिला बुद्धविहारमा भेटिन्छन्– सुवर्ण बज्राचार्य । जो ज्ञानमाला भजन सुनाएर मख्ख पार्छन् स्रोताहरुलाई । विशेष गरी उनले पूर्वमा नजाऊ तिमी पश्चिममा नजाऊ, तिमी संगै छुनि, तिमी मेरो संघ आऊ भजन सुनाउन विर्सदैनन् । जुन भजन सबैलाई प्रिय लाग्छ । आजको कोलाहल, अशान्ति र त्रासदीपूर्ण वातावरणमा यस्तो भजन कसलाई प्रिय लाग्दैन र ? त्यो भजनको शुरुमै भनिएको छ–


कतिकति कष्टहरूमा मरीपरी आएको छु 

अथाहमा छिपेको सत्य जतन गरी ल्याएको छु 

तृष्णा नै हो दुःखको कारण असमान इच्छा नराख 

राग, द्वेष, क्रोध मिटाई सदा शील सजाऊ

तिमीसँगै छु नि, तिमी मेरो संघ आऊ


   सुवर्णजीका भजन जति सुने पनि कम नै हुन्छ । मिठो स्वरमा भगवान बुद्धका अमृतमय वचनलाई संगीतमा ढालेर ज्ञानको प्रचार गर्नु महत्वपूर्ण सेवा पनि हो । सुवर्णजीले २०४४ साल देखि निरन्तर ज्ञानमाला भजन गाउँदै आएका छन् । पोखराको ज्ञानमाला भजन टोलीले देशका हरेक जिल्लामा पुगेर भजन सुनाउँदा स्रोताहरु मख्ख पर्ने गर्दछन् । अझ विशेष गरी पाल्पा, बुटवलमा ज्ञानमाला भजन भनेपछि श्रद्धालुहरु झुम्मिने नै भए । पोखरामा ज्ञानमाला भजनलाई उकास्ने काम स्वर्गीय प्रज्ञारत्न बज्राचार्य र सोम बज्राचार्यले गरेकोमा उनी कृतज्ञता र श्रद्धासुमन व्यक्त गर्न विर्सदैनन् । 

धर्मोदय सभाका पूर्व अध्यक्ष सुर्वण बज्राचार्यको जन्म वि.सं. १९९७ साल बैशाख २१ गते पोखराको मोहरिया टोलमा भएको थियो । उनका पिता चन्द्रमान र माता लक्ष्मीकुमारी थिए । पिता चन्द्रमान संगीतमा रुचि राख्नुहुन्थ्यो । त्यस्तै काका गर्भकुमार र दाजु सूर्यकुमार पनि संगितका सौखिन थिए । त्यस्तै कान्छोबुवा गर्भकुमार बज्राचार्य संगितका पारखि थिए । भाइहरु सरोज गोपाल र सोम बज्राचार्य ख्यातिप्राप्त गायक नै भए । पिता चन्द्रकुमारले नवरात्रमा ९÷१० दिनसम्म विन्ध्यवासिनी मन्दिरमा गई भजन गाउने गरेको उनी बताउँछन् । वि.सं. २००६ साल तिर नाटकमा आफूले भाग लिने गरेको प्रसंग बताउँदै उनले भने– त्यसबेला बडाहाकिम जर्नेल धनशम्शेर राणाको दरबारमा नाटक मञ्चन गर्ने गरिन्थ्यो । मेजर जनरल र उनका सुपुत्र हरिराजा संगितका सौखिन थिए । सांस्कृतिक क्षेत्रमा मोहरिया टोल त्यस बेला प्रख्यात थियो । मान्छेहरु पैसा तिरेर नाटक हेर्दथे त्यसबेला पनि । रामकृष्णटोल, भैरवटोल र तेर्सापट्टी टोल बिच विशेष प्रतिष्पर्धा हुने गर्दथ्यो । नारीहरुले भाग लिदैन्थे नाटकमा । अनि नरहरु नै नारीको भूमिका निर्वाह गर्दथे । ००६ साल तिर सौता मिलाप भन्ने नाटकमा मोहोरिया टोल प्रथम भएको थियो । बाल कलाकारको रुपमा उनलाई मेजर धनशम्शेरले विशेष पुरस्कारका रुपमा सुनको सिक्का (असर्फी) प्रदान गरेको थियो । नाटकमा भाग लिदा संगीत पनि सिक्नुपर्ने अवस्था । कोही नहुँदा उनले आफ्ना हात हार्विन माथि राख्थे र सिक्न खोज्थे । यसरी बानी गर्दा गर्दै उनी गाउने पनि भए । त्यसबेला संगीतज्ञहरुमा हरि राजा, सर्वज्ञमान प्रधानाङ्ग, हितबहादुर शाक्य आदि चर्चित थिए ।

सुरुमा उनले अभिलाल गुरुसँग कखरा चिन्ने अवसर पाए । त्यसपछि नारायणस्थानमा रहेको पोखरा पब्लिक स्कुलमा भर्ना भए । पछि नन्दलाल पाण्डे र स्याङ्वो शिक्षक विच मत भिन्नता हुँदा स्याङ्वो सरले विन्दुवासिनीमा छुट्टै पाठशाला खोलेकाले उनी विन्दवासिनी स्कुलमा भर्ना भए । त्यसको लगतै २०१३।१४ साल तिर पढ्नको लागि काठमाडौंको वनस्थली स्कुलमा (हाल सिद्धार्थ) बालाजुमा भर्ना हुन पुगे । चार वर्ष लगातार पढेर एस.एल.सी. पास गरेपछि त्रिचन्द्र कमर्स कलेजमा भर्ना भएको पुराना दिन उनले अझै बिर्सेका छैनन् ।

हामी कलेजबाट शैक्षिक भ्रमणको क्रममा मित्रराष्ट्र भारतको राजधानी दिल्ली पुगेका थियौं । हाम्रो शैक्षिक भ्रमणको टोलीको नेतृत्व गर्ने चक्रानन्द बैद्यको सम्बन्ध अल इन्डिया रेडियोमा नेपाली साहित्य कार्यक्रम सञ्चालक शिलु भन्ने म्याडमसँग रहेछन् । हाम्रो भेट उनीसँग भयो । उनले बैद्यलाई भने– तपाईको टोलीबाट कसैले केही गीत, संगीतका कार्यक्रम रेडियोमा संचालन गर्नुहुन्छ भने म अवसर दिन्छु । बैद्यले मेरो मुख हेर्दै भने– सुर्वण बाबु ! तिमीले कलेजमा सधैं गाउने गरेको गित सुनाऊ । मेरो लागि के खोज्छस कानो आखो जस्तै भयो । हुन त मैले यस अघि पनि रेडियो नेपालबाट एउटा गीत गाउने अवसर पाएको थिए । त्यो गीतको बोल थियो– 

मेरा साथी हिड्न नेपालमा हेरन

प्रकृतिको दुँनियामा जाउ फिरन 

मैले ढुक्क सँग अल इन्डिया रेडियोबाट उक्त गीत गाउने सुवर्ण अवसर पाएँ । जुन गीतमा मैले आफ्नै शब्द र धुन प्रस्तुत गरेको थिएँ ।

पोखरामा पृथ्वीनारायण कलेजको स्थापना भएपछि पोखराबाट बाहिर अध्ययनरत विद्यार्थीहरुलाई पोखरा फिर्ता बोलाइयो । मैले कमर्समा पढ्न निवेदन दिएँ । त्यसबेलाका अन्य मेरा पाँच सहपाठी बगरका विष्णुकुमार श्रेष्ठ, उद्योगपति बुद्धिबहादुर श्रेष्ठ र लामाचौरका चित्रबहादुर लगायत थिए । हामीलाई पढाउने शिक्षकहरुमा शिवपूजन यादव, जोर्जजोन, महेन्द्रसिंह थापा, भोला पराजुली आदि । २ वर्ष त्यहाँ पढियो । त्यसबेला मेरो विवाह फूलु बज्राचार्यसँग भयो । थप पढाई भने गर्न सकिन । त्यसपछि म आफ्नै व्यवसायमा लागँे । हामी सात जना दाजुभाइ थियौं, व्यापारको शिलशिलामा भारतका प्रमुख सहरहरु गोरखपुर, लखनौं, दिल्ली, कलकता, अमृतसर आदि ठाउँमा जानुपर्ने वृत्तान्त उनले सुनाए ।


२०४४ साल देखि सुवर्णले ज्ञानमाला भजन संघमा प्रवेश गरेका थिए । त्यहाँ प्राय जसो नेवारी भाषामा ज्ञानमाला भजन गाइने गरिन्थ्यो । उनलाई लाग्यो– यदि नेपाली भाषामा यहाँ भजन गाउने हो भने गैरनेवारहरु पनि आउन सक्दछ । उनले नेपाली भाषामा भजन लेख्न सुरु गरे । भजनले लोकप्रियता हासिल ग¥यो । प्रज्ञारत्न बज्राचार्य र सोम बज्राचार्यले उनका शब्द रचना भएको भजन क्यासेटमा निकाल्दा मुलुकभर विक्री वितरण हुन थाल्यो । विहान ३ बजे उठेर संगितमा गुनगुनाउने उनको अलगै बानी छ । बिहानै कलम कापी हातमा लिएर भजन लेख्ने गर्दछन् । आफैले गाउने, आफै लेख्ने र आफैले संगित दिने कार्यमा उनले कसैलाई गुरु थापना गरेनन् । उनका अडियो क्यासेट भजन श्रृङ्खला २,३ भाग निकालिएको छ । उनी अहिले पनि भजन लेख्न हौसिन्छन् । उनले २०६३ सालमा शान्तिदीप भजनमाला पुस्तक प्रकाशन गरे जुन भजनहरु अहिले धर्मशिला बुद्धविहारमा गाईन्छ । उनका विभिन्न पत्रपत्रिकामा थुप्रै लेखरचना प्रकाशित छन् । उनले स्टेजमा धेरैपटक कार्यक्रम गरे । बुद्ध धर्मसँघको महत्व बताउँदै ज्ञानमाला भजनले समाजमा शान्ति र सद्भावना फैलने विचार व्यक्त गर्ने सुवर्ण वज्राचार्यका शान्तिदीप भजनमाला पुस्तकमा अति मनपर्ने भजनहरु निम्न छन् ।

मेरो संघ आऊ

पूर्वमा नजाउ तिमी पश्चिममा नजाऊ

तिमीसँगै छु नी, तिमी मेरो संघ आऊ ।

कतिकति कष्टहरूमा मरीपरी आएको छु

अथाहमा छिपेको सत्य जतन गरी ल्याएको छु

तृष्णा नै हो दुःखको कारण असमान इच्छा नराख

राग, द्वेष, क्रोध मिटाई सदा शील सजाऊ

तिमीसँगै छु नि, तिमी मेरो संघ आऊ ... ...

कर्मकाण्ड पूजा जपले तिम्रो दुःख टर्दैन

लाख बत्ती बाली कतै मलाई खोज्नु पर्दैन

दृश्यबनी हाँसीदिन्छु मनको ऐना पुछ तिमी

आफूभित्र फर्किहेर सुनजर लगाऊ

तिमीसँगै छु नि, तिमी मेरो संघ आऊ ... ...

मायामय संसारमा नित्य केही हुँदैन

आज हो कि भोलि हो कि थाहा केही हुँदैन

सत्यगर सत्य बोल मिथ्या बोली नबोल

बाँचुन्जेल धर्महुने कर्म गर्दै जाऊ

तिमीसँगै छु नि, तिमी मेरो संघ आऊ ... ...

बुद्धबिना व्यर्थ

बुद्धबिना व्यर्थ भयो हाम्रो संसार

रित्तो भयो मानव जीवन, सत्य सदाचार

नश्वर जन्म अनित्य संसार लोभ र लालच किन यो ?

व्यर्थ रचाई राग र द्वेष हिंसा अशान्ति किन यो

अज्ञानताको पर्दा हटाई ज्ञानको शरणमा जाऔं । ... ..


भन्छन् सुगतले प्राणीहरूको

सम्यक् दृष्टि जगाउँछ

दुःखको बन्धन तोडेर सबको

जीवन मोक्ष दिलाउँछ

अन्तरमनको मयल पखाली

सुगतको शरणमा जाऔं । ... ..


उनकै पथमा शान्तिको उज्वल

किरण खोज्नु छ एक दिन

सत्य सुकर्मले चिन्तन गर्दै

मुक्ति जुटाउनु छ एक दिन

मिथ्या यो मनको भाव छुटाई

सत्यको शरणमा जाऔं ।

शरणमा आए“

हृदयबाट अन्जुलीमा भक्तिभाव पुष्प लिइआएँ

अपनाऊ या न अपनाऊ म त तिम्रो शरणमा आएँ ..


अविद्याको भूमरिमा द्विविधाभै बाँचिरहेछु

कर्म के हो ? धर्म के हो ? अलमल परिरहेछु

अपनाऊ या न अपनाऊ म त तिम्रो शरणमा आएँ ..


जिन्दगीको दोबाटोमा अन्धो भै घुमिरहेछु

यता हो कि उता जाने सत्य मार्ग खोजिरहेछु

अपनाऊ या न अपनाऊ म त तिम्रो शरणमा आएँ ....


करुणाको सागरमा मनको तीर्खा मेट्न आएँ

तृष्णाबाट घायल भई बुद्ध तिम्रो चरणमा आएँ

अपनाऊ या न अपनाऊ म त तिम्रो शरणमा आएँ ...

शान्तिदीप जलाऊ

तिम्रो अहिंसा शान्तिको सन्देश, तिम्रो शाश्वत ज्ञानको उपदेश

सुनेनन् अब केही निर्दयी दुनियाँ, बुद्ध आऊ, धर्म आऊ, संघ आऊ ।


धर्म नजानी कर्म नजानी

पंचशीलको मर्म नजानी

हिंसा अशान्तिमा डुब्दैछ प्राणी

मैत्री करुणा क्षमा नजानी

कसरी जीवन पथ पहिल्याउने ?

तिमी नै मुक्तिको मार्ग देखाऊ ....


चतुआर्यसत्यको भाव नमानी

आर्यअष्टाङ्गिक मार्ग नजानी

दुःख पीडामा भट्किरहेछन्

लोभ मोहमा अकिरहेछन्

ज्ञानी तिमी हौ ध्यानी तिमी हौ

तिमी नै मोक्षको युक्तिबताऊ ....

स्वार्थमा धर्म स्वार्थमा कर्म

शील समाधि प्रज्ञा नजानी

कसरी मनको क्लेश हटाउने ?

बुद्धको सत्य शिक्षा नजानी

जगमा अशान्ति उर्लिरहेछ

तिमी नै शान्तिको दीप जलाउ ...


शान्ति प्रेमी बुद्ध

सत्य द्रष्टा ज्ञानी शास्ता दया प्रेमी बुद्ध

मैत्री प्रेम करुणा युक्त शान्ति प्रेमी बुद्ध ।


व्याकुल मनमा मल्हम लगाई प्राणी दुःख दूर गरायौ

लोक हिताय लोक सुखाय मानव मंगल बोली सुनायौ

पञ्चशील ज्ञान प्रदायक सत्यप्रेमी बुद्ध

मैत्री, प्रेम, करुणायुक्त शान्ति प्रेमी बुद्ध ।


संसार शान्तिको अगुवा भएर मानिस पथमा दीप जलायौं

आफ्नो ज्योति आफै बनेर जीवन मोक्ष मार्ग देखायौ

आस्था सबका शान्ति नायक क्षमा प्रेमी बुद्ध

मैत्री, प्रेम, करुणायुक्त शान्ति प्रेमी बुद्ध ।


चतुरार्य सत्यको मर्म बताउँदै दस्ख निरोधको युक्ति सिकायौ

आर्यअष्टाङ्गिक मार्ग बुझाउँदै मध्यममार्गको अर्ति बतायौ

शील समाधि प्रज्ञा समता प्रेमी बुद्ध

मैत्री, प्रेम, करुणायुक्त शान्ति प्रेमी बुद्ध ।


अनित्य 

सुखमा सबै छन् साथी

दुःखमा कोही न कोही ।


न तेरो हो न मेरो यो

सबले त्यागी जाने सबै यो

आखिर जगको यो मधुशाला

टुटिजाने सपना सरी ... ।


आँसु हाँसो घाम र छायाँ

सुख, दुःख, मोह र माया

अन्त्य जीवनमा कोही न केही

फुटिजाने पानी फोका सरी ।


जीवन नित्य छैन कसैको

जानुछ एकदिन शरणमा उसको

छिनभर जीवन विरह किन यो ?

पलपल आँसु बहाई ... ।


कहा“ रहेछ बुद्ध ?

यहाँ हेरेँ वहाँ हेरेँ कहाँ रहेछ बुद्ध ?

मनको भित्र चियाई हेरेँ यहाँ पो रहेछ बुद्ध ।


पूर्व हेरेँ, पश्चिम हेरेँ, उत्तर दक्षिण सारा हेरेँ

नदी, नाला, बन–पाखा, त्यहाँ पनि छैन बुद्ध ।

मनको भित्र  चिहाई हेरेँ यहाँ पो रहेछ बुद्ध ।


मन्दिरभित्र खोजी हेरेँ, त्यहाँ पनि छैन बुद्ध

गुम्बागुम्बा केलाई हेरेँ, त्यहाँ पनि छैन बुद्ध

मनको भित्र  चिहाई हेरेँ यहाँ पो रहेछ बुद्ध ।


गगनसारा खोली हेरेँ, त्यहाँ पनि छैन बुद्ध

धर्तीसारा छामी हेरेँ, त्यहाँ पनि छैन बुद्ध

मनको भित्र  चिहाई हेरेँ यहाँ पो रहेछ बुद्ध ।

धर्मोदय सभा कास्कीको अध्यक्ष हुँदा सभाको क्षेत्रीय अधिवेशन पोखरामा गर्न उनी सफल भए । पोखरामा रामायण प्रदर्शन गर्दा भजन लेख्ने र गाउने गर्दछन् सुवर्ण । ज्ञानमाला संघका हरेक कार्यक्रममा सहभागी हुने सुवर्णले ८० टेक्न लागे पनि उनमा अझै युवा जोश जाँगर भेटिन्छ । उनको धार्मिक तथा सांगितिक योगदानको कदर स्वरुप उनलार्ई विभिन्न संघ संस्थाले सम्मानपत्र, कदरपत्र र प्रशंशा पत्र प्रदान गरेका छन् । यसरी सम्मान गर्ने प्रमुख संस्थाहरुमा भैरव सांस्कृतिक संरक्षण समितिले २०६० सालमा सम्मानपत्र, सद्धर्भ सभा धर्मसंघ बुद्धविहारले सम्मानपत्र, ज्ञानमाला संघले स्वर्ण जयन्तीमा प्रशंसापत्र, बौद्धयुवा ज्ञानमाला संघले सम्मानपत्र, धर्मोदय सभा कास्कीले सम्मानपत्र, विश्वशान्ति स्तुप समिति पोखराले कदरपत्र, संगीत प्रशिक्षण केन्द्रले २०७० मा सम्मानपत्र प्रदान गरेका छन् । ज्ञानमाला भजनलाई सर्वसाधारण माझ पु¥याएर बुद्ध धर्मको प्रचार–प्रसारमा उनले महत्वपूर्ण भूमिका खेलेको बुद्धिजीवीहरु बताउँछन् । सुवर्ण बज्राचार्य खेलकुदमा पनि उत्तिकै रुचि राख्ने गर्दछन् । उनी फुटबल, टेबल टेनिस, व्याडमिन्टन, भलिबल र कपर्डी विशेष रुचिका साथ खेल्ने गर्दछन् । उनी बेलाबखत फेवातालमा पौडी खेल्न संधै जाने गर्दथे । उनको विचारमा सृष्टिको शुभारम्भसँगै प्रकृतिसँग घुलमिल भएर आएको हो– संगित । ज्ञानमाला भजनप्रति युवाहरुको चासो नदेख्दा उनलाई चिन्ता लाग्छ । तर जे होस् उनको अन्तिम ईच्छा छ– बाँचुन्जेल यस्तै संगितमय साधनामा आफूलाई समर्पित गर्न सकुँ । र जीवनलाई धन्य धन्य वनाउन सकुँ ।

पुस्तकको नामः व्यक्ति र व्यक्तित्व
लेखकको नामः रवीन्द्र माकाजू
ठेगानाः मालेपाटन, पोखरा
फोनः ९८१७१०७६२५
इमेलः  rabindra.makaju@gmail.com
प्रकाशनः २०७७ आषाढ
पुस्तक डिजाइनः कृष्ण कम्प्युटर
(नोटः लेखकको अनुमतिविना कुनैपनि लेख कपी गर्न पाइने छैन । यदि त्यसो भएको पाईएमा कानुनबमोजिम कार्वाहि हुनेछ ।) 
धन्यवाद !!!

Post a Comment

0 Comments